८ कार्तिक २०८३, शनिबार

आज भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको सहज जित 

  • २७ माघ २०८०, शनिबार
Image

काठमाडौं- चीनको छिङ्घाई प्रादेशिक युवा फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाली अण्डर-२३ फुटबल टोलीले सहज जित निकालेको छ ।

तेइस वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोली र चीनको प्रान्तीय टोली छिङ हाई युसुबीच आज भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले  सहज जित निकालेको हो।

 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित उक्त खेलमा तिब्बतबाट नेपाल भ्रमणमा आएका चीनको प्रान्तीय टोली छिङ हाई युसु टोलीमाथि नेपालले ५-१ को जित निकाल्यो । 

 

त्यस्तै खेलको ३९औँ मिनेटमा समिरले गोल गरेपछि नेपालले खेलको पहिलो हाफमा नै २-० गोलको अग्रता बनाउन सफल भएको हो । 

 

नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक-एक गोल गरे । सञ्जीवले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका हुन्।

त्यसपछि खेलको ५४औँ मिनेटमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरि खेलको ६३औँ मिनेटमा छिरिङको गोलमा नेपालले ४-० गोलको अग्रता बनाएको हो।  खेलको ७५औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ५-० को गोलको अग्रता बनाएका हुन् । खेलको ७८औँ मिनेटमा चीनका पेङ्गकोउले एक गोल फर्काए, त्यसपछि खेलको निर्धारित समयसम्म गोल हुन सकेन र नेपालले चीनविरुद्ध ५-१ को जित निकाल्न सफल भयो । 

 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भएको उक्त खेलमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो । 

उक्त मैत्रीपूर्ण खेल सुरु हुनुअगाडि विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर