काठमाडौं - सन् २०१७ सेप्टेम्बर २४ मा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विकास परियोजनालाई अघि बढाउने विषयमा सम्भवत: आइतबार अन्तिम निर्णय हुने भएको छ। यसबारे अन्तिम निर्णय गर्न केही समयमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बस्दैछ। उक्त बैठकमा एमसीसीका विषयमा छलफल हुने भएको छ।
अमेरिकाले एमसीसी अनुमोदनका लागि फेब्रुअरी २८ सम्मको समय दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आजको बैठकमा एमसिसी प्रतिनिधिसभामा टेबल गर्ने अथवा आजैदेखि गठबन्धन बिसर्जन गर्ने विषयमा निर्णय गर्ने कांग्रेसकै एक नेताले जानकारी दिए।
उनले भने, ‘आज गठबन्धनका सहयात्री दलले एमसिसी टेबल गर्न मान्छन् भन्ने विश्वास छ, कदाचित टेबल गर्न मानेनन् भने त्यहीबेला गठबन्धन बिसर्जन हुन्छ।’
प्रधानमन्त्री देउवाले यो कुरा प्रचण्डलाई बताइसकेकोसमेत ती नेताले जानकारी दिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेका छन्। त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसमा मनाउने तयारी भइरहेको छ।
सत्ता गठबन्धनमा राष्ट्रिय जनमोर्चाले एमसीसी खारेज गर्नुपर्ने बताएको छ भने जनता समाजवादी र कांग्रेसले संसद्मा अघि बढाउनुपर्ने अडानमा छ। शनिबार नेकपा एकीकृत समाजवादीले पनि संसद् टेबल गर्न दिने बताएको हो। तर, माओवादी केन्द्रले भने यस विषयमा निर्णय गरिसकेको छैन। गठबन्धनमा माओवादी एक्लिन थालेको छ।
आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation