काठमाडौं - भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरुप एक लाख डोज कोरोना खोप प्रदान गरेको छ। सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित एक कार्यक्रममा उक्त खोप नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो। गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका थिए ।
लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरेका थिए।
सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोरोना महामारी विरुद्ध लड्न सहयोग गरिरहेको छ । ‘भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ,’ काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation