काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाललाई तेस्रो खेलमा घरेलु टोली युएईले २०३ रनको लक्ष्य दिएको छ।
दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो।
युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए। यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए। बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए।
करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए। यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिए। पहिलो विकेटका लागि वासिम र सुरीले ५७ रनको साझेदारी गर्दै युएईलाई गतिलो सुरुवात दिलाए। तर १६औं ओभरको अन्तिम बलमा कप्तान सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
१९औं ओभरमा करण केसीले सुरीलाई विकेट किपर विनोद भण्डारीबाट क्याचआउट गराए। त्यसपछि दीपेन्द्र सिंह ऐरीले २३औं ओभरको पहिलो बलमा सिपी रिजवानलाई विनोदबाटै क्याचआउट गराएपछि युएई ७३-३ को स्थितीमा पुग्यो। रिजवान ४ रन बनाएर आउट भए।
भृत्य अरविन्द र रोहन मुस्ताफाले युएईको इनिङ्सलाई अघि बढाए। तर यी दुईबीच ३२ रनको साझेदारी आरिफ शेखले तोडे। आरिफले ३२औं ओभरमा भृत्यलाई बोल्ड गरे। त्यसपछि मुस्ताफा र बसिल हमिदले पाँचौ विकेटका लागि ४७ रनको साझेदारी गरे।
कप्तान सन्दीपले यी दुईको साझेदारीलाई ४३औं ओभरमा ब्रेक गर्दै बसिल हमिदलाई कट एण्ड बोल्ड गरे। हमिदले १७ रन जोडे। एक छेउबाट इनिङ्स अघि बढाइरहेका मुस्ताफालाई सोमपाल कामीले ४६औं ओभरमा बोल्ड गरे। मुस्ताफाले ७३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ६० रन बनाए।
सोमपालले ४६औं ओभरमै कासिफ दाउदलाई कुशल भुर्तेलबाट क्याचआउट गराएपछि युएईले १७२ रन हुँदा सातौं विकेट गुमायो। त्यसपछि कप्तान सन्दीपले ४७औं ओभरमा युएईका कप्तान अहेमद राजाला खाता खोल्न नदिई बोल्ड गरे।
युएईका अलिशान सारापुले २१ रन बनाए। जहुर खान ९ रनमा अविजित रहे। अहिले नेपालले एक ओभरको समाप्तिमा ६ रन जोडेर खेलिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation