काठमाडौं- शिक्षक सेवा आयोगको प्रश्नपत्र उपलब्ध गराउने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर कालीकोटका एक युवा फरार भएका छन्।
आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर परीक्षा अगाडि नै प्रश्नपत्र लिक गराउने शर्तमा रकम असुलेका कालीकोट गेलाका जगत शाही फरार भएका हुन्।
चैत १५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएर पश्नपत्रसहित उत्तर लेखेर पठाइदिने शर्तमा उनले पैसा उठाएका थिए। शाहीले परीक्षा समयभन्दा अगाडि शुक्रबार जेनिथ इन्स्टिच्युटमा र सुर्खेतस्थित एमपीजे म:म सेन्टरबाट हस्तलिखित प्रश्न उत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको खुलेको छ।
कालिका माद्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेत लगायत स्थानका परिक्षार्थीबाट २ लाखका दरले असुलेर उनी फरार भएको बताएका छन्। तर रकम बुझाएका परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको भन्दै शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको एक होटलमा घेराउसमेत गरेका थिए। कालीकोटकै विजय शाहीसमेतले परीक्षामा पास गराइदिने भन्दै २ लाख रुपैयाँ दिएको बताए।
परीक्षार्थीले पैसा फिर्ता मागेपछि उनी ४ तलाको घरबाट हाम फालेर फरार भएको स्थानीयहरूले बताएका छन्। गैरकानुनी रुपमा रकम असुल्ने जगत र उनका सहयोगीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। रकम असुलीमा कालीकोटका मनराज शाही र जगत शाही लगायतका युवाहरू पनि संलग्न भएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation