काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारी साधन प्रयोग निर्देशिका जारी गरेको छ। वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो।
निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्र निर्वाचन प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्न पाउनेछन्। जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाउने छन्।
नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउने छन्।
आयोगको कार्यविधिअनुसार सवारी साधन प्रयोगका लागि उम्मेदवारले निर्वाचन अधिकृतलाई निवेदन दिनुपर्ने छ। आयोगले जारी गरेको निर्देशिकाअनुसार अधिकृतले निवेदनका आधारमा उल्लेखित सङ्ख्यामा नबढ्ने गरी सवारी साधन प्रयोग गर्ने अनुमतिपत्र जारी गर्नुपर्ने जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation