काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन्।
बुधवार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
भुसालले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरु नभएको जिकिर गरे।
उनले मनमोहन नेतृत्वको बाहेक एमालेका गठबन्धनबिनाका कुनै एकल सरकार नरहेको बताए। उनले गन्तव्य समातेको बजेट आएको पनि बताए। भुसालले अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भने।
‘यहाँ केही साथीहरु भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार। कहिले थियो इतिहासमा? इतिहासका पाना पल्टाएँ। केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो २०७२ असोज २२ गते। २०७३ साउन १९ सम्म प्रधानमन्त्री हुनुभएको थियो', उनले भने, 'त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त थियो। म सुन्दैछु एमालेको सरकार रे! कसरी दुई पार्टीको सरकार एमालेको हुन्छ?'
भुसालले दोस्रो पटक २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री भएको बताए। २०७८ असार २१ गतेसम्म ओली प्रमका रुपमा रहेको बताउँदै उनले पार्टी एकतापछि त्यो सरकार बनेको सुनाए।
'यो घाम जत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन', उनले भने, 'एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation