काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक,अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई पूर्णरूपमा कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकी नराख्नेमा जोड दिए।
सामाजिक सुरक्षामा निजी तथा अनौपचारिक र वैदेशिक रोजगारीमा सहभागी भएकालाई पनि समावेश गरिने प्रधानमन्त्री देउवाको भनाइ छ। “श्रमिकका हक, अधिकार संरक्षणका लागि नेपाल ट्रेड युनियन कांग्रेसले उठाएका सबै माग पूरा गर्न अहिले कांग्रेसको एकल सरकार होइन, गठबन्धनमा सहमति जुटेअनुसार श्रमिकलाई हक, अधिकार दिन कञ्जुस्याइँ गरिँदैन, कर्मचारीको तलब वृद्धि, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै सामाजिक सुरक्षा भत्ताले पनि श्रमिकलाई हक, अधिकारका लागि सहयोग गरेको छ”, उनले भने ।
श्रम बजारलाई चलायमान बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड दिए। खोपले कोभिड नियन्त्रणमा आए पनि रुस र युक्रेनबीचको युद्धले औद्योगिक क्षेत्र प्रभावित हुँदा श्रमिक वर्गलाई परेको प्रभाव अन्त्य गर्दै रोजगारी सिर्जनामा सरकारले काम गर्ने उनको भनाइ थियो।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले यसअघि प्रधानमन्त्री देउवाकै कार्यकाल विसं २०७४ मा आएको श्रम ऐन कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्दै देउवाकै अहिलेको कार्यकालमा त्यसको पूर्ण कार्यान्वन गर्न माग गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation