लोक कलम सम्वाददाता,
काठमाडौँ, ३० जेठ ।
त्रिभुवन विश्वविद्यालयले परीक्षामा सोधिएका यसअघिका विवादित प्रश्नपत्रबारे छानबिन समिति गठन गरेको छ ।
रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा.डा.पेशल दाहालका अनुसार प्रश्नपत्र हुबहु प्रकाशित भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको हो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ ।
एक हप्ताभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको समितिले यसअघि विश्वविद्यालयको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्र अघिल्लो वर्ष र यो वर्ष हुबहु प्राप्त भएपछि छानबिन गर्न लागेको हो ।
विश्वविद्यालयले विज्ञ समूहले प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्ने कर्मचारीको लापरबाहीका कारण अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको बताएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation