काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नगरेकाले सरकार र सेनालाई बदनाम गर्न गलत प्रचार गरिएकोले भ्रममा नपर्न आग्रह गरेका छन्।
पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले अमेरिकासँग अहिले कुनै पनि सैन्य गठबन्धनसँग सम्बन्धित एसपीपी सम्झौता नभएको दाबी गरेका छन्।
‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखिको बानीलाई दोहोर्याएको छ,’ प्रचण्डले भने, ‘हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ। विल्कुल झुटो हो।’
प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको प्रचण्डको जिकिर छ। ‘यहीँबाट घोषणा गर्न चाहन्छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै हालमा त्यसमा जान्न भन्नुभएको छ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको तथ्य रहेको दाबी गरे। ‘बरु, यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली सरकारले गरिसकेको तथ्य इतिहासमा छ’ प्रचण्डको दाबी छ।
अमेरिकाको वेबसाइटमा पनि नेपाल सन् २०१९ मा एसपीपीको साझेदार भएको उल्लेख छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation