चितवन- चितवनमा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ। जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला वर्षे धान रोप्ने काम भइरहेको छ।
जिल्लामा समग्रमा ३० प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेकाअनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाइँ भइसकेको छ। माडीमा २० प्रतिशत र पश्चिम चितवनमा पाँच प्रतिशत रोपाइँ सकिएको उनले बताए।
जिल्लामा वर्षे धानको उत्पादकत्व प्रति हेक्टर ३.६ मेट्रिक टन छ।‘धान प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष महत्व दिएको छ। धान खेती प्रवर्द्धनका लागि भनेर सरकारले दुई करोडबढी रकम दिएको छ’, उनले भने। धान, मकै र गहुँको बिउमा किसानलाई प्रोत्साहन गर्न यस वर्ष एक करोड २५ लाख रुपैयाँ प्राप्त भएको उनले बताए।
कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइ, चितवनले भोलि (१५ असार) १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन्। यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’रहेको छ।
खैरहनी नगरपालिका–१३ मा मेसिनबाट धान रोपेर र भरतपुर महानगरपालिका–२५ मा प्रतियोगितात्मक कार्यक्रमसहित धान रोपेर दिवस मनाउन लागिएको हो। यसबाहेक विभिन्न कृषक समूह, कृषि सहकारी संस्था र नगरपालिकाले पनि दिवस मनाउन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाई, चितवनका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले बताए।
नेपालमा सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी १३० वटा जातका धान रोप्ने गरिन्छ । चितवनमा भने बर्खे धानमा सबैभन्दा बढी सावित्री जातको धानले ओगटेको उनी बताउँछन्। त्यसको अलावा सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ लगायतका धान रोपिन्छ।
कृषिमा प्रविधि भित्रिएपछि उत्पादकत्व बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवन सूचना अधिकारी माधव पौडेल बताउँछन्। उनकाअनुसार धानको उन्नत बिउ उत्पादन गर्ने स्रोत केन्द्रदेखि धान रोप्ने, काट्ने र पराल थन्काउनेसम्मका मेशिन जिल्लामा भित्रिएका छन् ।
‘पछिल्लो समय चितवनको धान उत्पादन बढेको छ’, उनी भन्छन्, ‘असल बिउको प्रयोग गरे मात्रै पनि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ। युरिया मलको जथाभावी प्रयोग कम गरेपछि रोगकीरा कम लागेको किसानहरुले बताउनुभएको छ।’
धानको बिउमा चितवन आत्मनिर्भर भएको भन्दै उनले सूचीकरण नभएका बिउ प्रयोग गर्न नहुने बताए। सामुदायिक नर्सरीको अभ्यासले किसानको उत्पादन लागत पनि घटेको उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation