काठमाडौं- भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेकी कांग्रेस नेतृ आरजु राणाको भेटबारे नेकपा एमालेले भ्रम फैलाइरहेको छ।
यो भ्रम फैलाउने कामको अगुवाई माधव नेपाललाई भर्याङ बनाएर राजनीति गर्दै ओलीको किचेन क्याबिनेट प्रवेशको अनुमति कुरिरहेका विष्णु रिजालले गरिरहेका छन्। दिल्लीमा भएको भेटबारेको तस्बिर सार्वजनिक भएलगत्तै ट्विट गर्दै उनले एउटा लज्जास्पद दृष्य भन्दै भनेका छन्, 'प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ।'
तर, उनले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भारतीय जासुसी संस्था रअका प्रमुखलाई बोलाएर गरिएको गोप्य वार्ता बिर्सिएको भन्दै उनकै आलोचनासमेत भइरहेको छ।
शुक्रबार साँझ नै एमालेका नेताहरुले भाजपाका विदेश विभाग प्रमुखको उपस्थितिमा प्रचण्ड-आरजूबीच सहमति भएको भन्दै एक दस्तावेज पनि सार्वजनिक गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीति गर्न यस्ता गैरराजनीतिक गतिविधिहरुको साहरा लिनुपरेको छ।
वास्तविकता भने दिल्ली भ्रमणमा रहेका प्रचण्डले उपचारका लागि दिल्लीमा रहेको आरजू राणा देउवाले नेपालका राजदूतको उपस्थितिमा स्वास्थ्य अवस्था र अन्य विषयमा कुराकानी गरेका हुन्। यसबारे माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले पनि स्पष्ट पारेको छ।।
भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाबीच भएको भेटलाई गलत नियतका साथ प्रचार गरिएको भन्दै प्रचण्डको सचिवालयले खण्डन गरेको छ।
प्रचण्डको सचिवालयले शनिबारै राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ' आज (शनिबार) बिहान भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनुभएकी कांग्रेस नेतृ डा आरजु राणा देउवासँग कमरेड अध्यक्ष (प्रचण्ड) को ब्रेकफास्टकै क्रममा सामूहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। यस विषयलाई लिएर केही मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।'
प्रचण्डको सचिवालयले भनेको छ, त्यस प्रकारका अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पूर्णतः खारेज गर्दछौं। कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं।'
आफूहरूमा देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ नभएको स्ष्टीकरण विज्ञप्तिमा दिइएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation