काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका छन्। एआईजीको ५६ वर्षे उमेर हदका कारण उनी बिहीबार रातिदेखि अनिवार्य अवकाश भएका छन्।
तर अनिवार्य अवकाशमा जानु चार महिना पहिले देखि नै कार्यालयमा हाजिर भएका छैनन्। सरकारले गत वैशाख १८ गते आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि पोखरेल कार्यालयमा अनुपस्थित भएका हुन्। वैशाख १९ गते सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सर्वोच्चले पनि सरकारको निर्णय सदर गर्दै असार ३१ गते उनको रिट खारेज गरिदिएपछि राजीनामा दिएका थिए। तर प्रहरी प्रधान कार्यालयले राजीनामा स्वीकृतिका लागि प्रक्रिया नै अगाडि नबढाएपछि पोखरेल अनिवार्य अवकाशमा गएका हुन्।
उनले साउन २ गते एआईजीबाट राजीनामा बुझाएका थिए। प्रहरी प्रधान कार्यालयमै पुगेर राजीनामा दिए पनि आईजीपी धीरजप्रताप सिंहले राजीनामा स्वीकृतिको प्रक्रिया अगाडि नबढाएका हुन्। मन्त्रिपरिषदले राजीनामा स्वीकृत गर्ने भएपनि हेडक्वाटरमै थन्क्याइएको स्रोतले बतायो।
आफ्नै ब्याची पोखरेललाई अप्ठेरोमा पार्ने पक्षमा सिंह नरहेको बताइएको छ। यसअघि मुद्दाको सुनुवाइ लम्बिँदा पोखरेलले बिदा मागेका थिए। तर त्यतिबेला पनि सिंहले उनको बिदा स्वीकृत गरेका थिएनन्।
बिदा अस्वीकृत भए पनि पोखरेल हाजिर भएका थिएनन्। उनी गयल भएकै अवस्थामा उनलाई मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो।
सेवा अवधिका हिसाबले आगामी चैतसम्म समय भएपनि आफ्नै उमेर हदका कारण पोखरेल छिटो अवकाश भएका हुन्। उनी २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation