काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति लत्याउँदा पेट्रोलियम पदार्थको मूल्य घट्न सकेन। गत असार ११ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले डिजेलको २९ रुपैयाँ र पेट्रोलको प्रतिलिटर २० रुपैयाँ मूल्य घटाएको जानकारी गराएको थियो। उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा नेपाल आयल निगमले सोही दिन राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।
मन्त्रालय र निगमको संयुक्त घोषणासँगै असार १२ गते आइतबारदेखि बिहानैदेखि डिजेल प्रतिलिटर १६३ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७९ रुपैयाँमा पाइन थाल्यो। जबकि, त्यो बेला इण्डियन आयल कर्पोरेशन (आईओसी) सँग डिजेल किनेर नेपालसम्म ल्याउँदा प्रतिलिटर २०२ रुपैयाँ पर्न आउँथ्यो। पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ थियो।
निगमले एकैपटक डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाउनुअघि नै दुवै वस्तुमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटिसकेको थियो। अर्थमन्त्रालयले असार मसान्तसम्मका लागि पूर्वाधार करमा लाग्दै आएको १० रुपैयाँ फिर्ता दिने निर्णय गरेसँगै निगमले जेठ १९ गतेदेखि नै लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको थियो।
असार ११ गते निगम र अर्थ र उद्योग मन्त्रीलाई बोलाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए। यससँगै सोही दिन बालुवाटारमा बसेको बैठकले पनि निगमले डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाउने र घटेको मूल्य बराबरको कर समायोजन अर्थमन्त्रालयले तत्काल गर्ने सहमितसहितको निर्णय भएको थियो।
अर्थ मन्त्रालयले उक्त कुराको बेवास्ता गर्दै पेट्रोलिमय पदार्थको मूल्य घटाउन नसकिएको निगमलाई जानकारी गराएको छ। जसका कारण निगम चर्को दबाबमा छ। निगमलाई प्राप्त पछिल्लो मूल्यसूची अनुसार अझै मासिक साढे ६२ करोड घाटा रहेकाले मूल्य समायोजन गर्न नसक्ने उनको भनाइ छ। थानीले पछिल्लो मूल्यसूची अनुसार पेट्रोल, मट्टितेल र हवाई इन्धनमा मात्रै नाफा रहेको र डिजेल र एलपीजीमा घाटा रहेको बताए।
पेट्रोलको नाफाले डिजेल र एलपीजीको घाटालाई मलमपट्टि गर्ने भएकाले यस पटक मूल्य समायोजन नगरेको थानीको भनाई छ। १६ अगस्टमा प्राप्त मूल्य सूचीसँगै निगमलाई आईओसीबाट तेस्रो पटक मूल्य घटेर आएको छ।
‘तेस्रोपटक मूल्य घटेर आएपनि हामीले असार ११ गते नै घटाइसकेको मूल्य हाराहारीमा बल्ल आइपुगेको छ, सरकारले कर समायोजन गर्ने आश्वासनसहित पहिल्यै मूल्य घटाउन नलगाएको भए यतिबेला पेट्रोलियम पदार्थको मूल्य उल्लेख्यरूपमा घट्थ्यो,’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भने।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation