काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ। माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो।
आज पुनः अर्को विज्ञप्तिमार्फत थप समय दिई उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो। सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत स्पष्ट पारेको छ।
यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो। माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation