८ कार्तिक २०८३, शनिबार

रामचन्द्र पौडेलले भने- प्रधानमन्त्रीमा मेरो सम्भावना छ, गगनको बेला भएको छैन

  • ११ मंसिर २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा गगन थापा भन्दा आफ्नो बलियो सम्भावना रहेको टिप्पोणी गरेका छन्। गगनले आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीका रुपमा अघि सार्ने बेला नभएको उनले जिकीर गरे।

उनले गगन एकैपटक फड्किन खोजेको भन्दै आपत्ति जनाए। पौडेलले गगनलाई राजनीतिलाई सहज रूपमा नलिन पनि आग्रह गरे।

‘एकैचोटि फड्कन सक्ने अवस्था देख्दिनँ पालो आउँछ नि। परम्परा बोकेको पार्टी हो। यहाँ धेरै लामो संघर्ष गरेको इतिहास छ, संघर्ष गरेका मानिस यहीँ छन्,’ पौडेलले भने, ‘त्याग, तपस्या, सारा जीवन पार्टीलाई दिएकाहरू यहीँ छन्। त्यति सजिलैसँग प्रधानमन्त्री बन्छु भनेर भन्न मिल्दैन। राजनीतिलाई यति सजिलोसँग हेर्न पनि मिल्दैन।’

प्रधानमन्त्रीका रूपमा आफू अघि बढ्ने विषयमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग छलफल भइसकेको उल्लेख गर्दै उनले पार्टीका अन्य नेतासँग पनि छलफल भइरहेको जानकारी दिए।

‘राजनीति भनेको हिसाबकिताब पनि हो। प्रधानमन्त्रीमा मेरो सम्भावना छ, हेर्दै छु, छलफल गर्दैछु,’पौडेलले भने, ‘सभापतिले पनि सरल ढंगले सल्लाह गरौँ भन्नुभएको छ। म प्रधानमन्त्रीका रुपमा बलियो उम्मेदवार रहेको सबैलाई थाहै छ।’

कांग्रेसभित्र देउवा आफैँ प्रधानमन्त्रीमा दोहोरिने तयारी गरिरहेका छन्। त्यस्तै महामन्त्री गगनकुमार थापाले त चुनावमा घरदैलो गर्दा नै आफू भावी प्रधानमन्त्रीको प्रत्यासी भनेर भोट मागेका थिए। उनी काठमाडौं-४ बाट प्रतिनधिसभा सदस्यमा निर्वाचित भएका छन्।

थापाले चुनावपछि आयोजित कार्यक्रमहरूमा पनि आफू मुलुक चलाउने ड्राइभरको सिटमा बस्न तयार रहेको बताउँदै आएका छन्। काठमाडौं १ बाट चुनाव जितेका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, नवलपुर-१ बाट चुनाव जितेका पूर्वमहामन्त्री डा.शशांक कोइराला पनि आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिरहेका छन्।

नेता पौडेल भने यसपटक सबैले आफूलाई स्वीकार गर्नुपर्ने पक्षमा छन्। ‘यसपटक सबैले  मलाई समर्थन गर्नुपर्छ। जनताले प्रधानमन्त्रीका रुपमा नयाँ अनुहार खोजेका छन्,’ उनले भने, ‘नयाँ व्यक्तिले केही गर्छन् भन्ने जनतामा आशा छ। त्यसका लागि म तयार छु।’

पौडेल यसपटक तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका छन्। महामन्त्री थापाले आफूलाई संसदीय दलका नेताको रुपमा सहयोग गर्न आग्रह गरिरहेका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनलाई प्रधानमन्त्रीका रुपमा स्वीकारेर प्रस्तावक नै बस्ने बताएपछि पनि कांग्रेसभित्र यस विषयले चर्चा पाइरहेको छ।

गठबन्धन बनाएर चुनाव लडेको कांग्रेसले एकल बहुमत ल्याएको छैन। कांग्रेसले अहिलेसम्म प्रत्यक्षतर्फ ५३ सिट जितेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर