काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्रै घेराबन्दीमा परेका छन्। माओवादी अध्यक्ष प्रचण्डले आफूलाई केन्द्रमा राखेर अन्य नेताहरुलाई अपमान सहन बाध्य पारेको भन्दै पार्टीभित्रैबाट उनलाई घेराबन्दी हुन थालेको हो। नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टी, राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ।
तर, पछिल्लो समय मन्त्रालय तथा अन्य पदहरुको भागबण्डामा भने सरकारलाई समर्थन गरेका पार्टीहरुबीच विवाद सुरु भइसकेको छ। जसका कारण अध्यक्ष प्रचण्डले विश्वास मत लिन पनि ढिलाइ गरिरहेका छन्।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूलाई गृहसहित उपप्रधानमन्त्री दिनुपर्ने माग गरेका थिए। अध्यक्ष प्रचण्डले पनि गृह मन्त्रालय नारायकाजीलाई दिने आश्वासन दिएका थिए। सोही आश्वसवनपछि नारायणकाजी सरकारमा जान तयार पनि भएका थिए। तर, अध्यक्ष प्रचण्डलाई 'चेक' गर्न ओलीले आफ्नो चर्को विरोध गर्दै आएका रवि लामिछानेलाई गृह मन्त्रालय दिनुपर्ने अडान राखेका थिए।
ओलीको अडानसँगै रविले पनि आफूले उपप्रधान तथा गृह मन्त्रालय नदिए समर्थन गर्न नसकिने अडान राखे। ओली र रविको अडानमा घुँडा टेक्न बाध्य भएका प्रचण्डले नारायणकाजीलाई भौतिक पूर्वाधार मन्त्रालय दिए। आफूले गृह नपाएपछि उपप्रधानमन्त्रीको वरीयतामा एक नम्बर हुनुपर्ने नारायणकाजीको अडान थियो। तर, प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा भने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रहेका छन्।
आफूले चाहेको मन्त्रालय पनि नपाएको र वरीयतामा पनि एमालेबाट मन्त्री बनेका विष्णु पौडेलभन्दा तल परेको भन्दै नारायणकाजीले प्रचण्डसँग आक्रोश व्यक्त गरेका छन्। उनले आफूलाई मात्रै केन्द्रमा राखेर अन्य पार्टीका साथीहरुलाई अपमान हुने गरी ओलीको रवैया सहन बाध्य पारेको भन्दै विरोधसमेत गरिरहेका छन्।
यही कुराले गर्दा पदभार ग्रहणपछि उनी मन्त्रालय पनि गएका छैनन्। प्रचण्डले पनि ओलीलाई चेक गर्नका लागि एमालेबाट मन्त्री बनेका अन्य चार जनालाई कुनै मन्त्रालयको जिम्मेवारी दिएका छैनन्। एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई जिम्मेवारीविहीन छन्।
उनीहरु हरेक बिहान सिंहदरबार गएर घाम तापेर फर्किने गरेका छन्। उनीहरु कहाँ गएर बस्ने भन्ने कुनै टुंगो लाग्न सकेको छैन। त्यसेगरी राष्ट्रिय जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान पनि जिम्मेवारीविहीन छन्।
त्यसैगरी गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गृह नपाएपछि सरकारमा सहभागी भएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानसहित तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ। यतिमात्र नभएर राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस घोषणा गरिनुपर्ने, हिन्दु राज्य घोषणा गरिनुपर्ने, संघीयता खारेज गरिनुपर्नेलगायतका शर्तहरु अघि सारेको छ।
त्यसैगरी रवि लामिछाने नेतृत्वको पार्टीले पनि उपसभामुखसहित चार मन्त्रालयमा दाबी गरिरहेको छ। विगतमा आफ्नो सरकार ढाल्न भूमिका खेलेका प्रचण्डलाई 'चेक' गर्नका लागि ओलीले रविलगायतका नेताहरुलाई उचालिरहेको र त्यसको मारमा आफूहरु परिरहेको भन्दै नेकपा माओवादीभित्र नै प्रचण्डको विरोध भइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation