काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट सरकार बन्नु र ढल्नुलाई प्रतिगमनका रूपमा व्याख्या नगर्न सुझाव दिएका छन्।
नवनिर्वाचित संसदको पहिलो बैठकलाई आज सम्बोधन गर्दै ओलीले आफूले यसअघि दुईपटक गरेको संसद विघटनको बचाउ गरे।
‘नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन हो कि भनेर। बेलायतमा त कतिपल्ट प्रतिगमन भएछ त्यसो भए । संसदीय प्रणालीको जन्मदाता देशमा प्रतिगमन अस्तिसम्म भएको थियो । यति धेरै जान्ने पनि अलिक नहौँ कि’, ओलीले भने।
उनले मौका अनुसारका व्याख्या गर्न नहुने बताए। ‘प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकार खोसिनु प्रतिगमन हो । जनताको अभिमतका लागि जनतामा जानु र सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन । संसद्बाट सरकार बन्नु, संसद्बाट सरकार ढल्नु प्रतिगमन होइन। अन्यत्रबाट सरकार ढाल्ने गरियो भने त्यो प्रतिगमन हो।’
ओलीले अहिलेको सत्ता गठबन्धन प्रतिगमनमको पक्षमा नरहेको बताए। उनले अहिलेको सरकारले जनताका चाहना अनुसार काम गर्ने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation