काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि २६ पुसमा आफूलाई विश्वासको मत दिएको भन्दै सभामुख र राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले विश्वासको मत दिने दलबीचको छलफल बोलाएका हुन्।
५ माघमा सभामुखको चुनाव गर्ने कार्यतालिका छ। सभामुखको निर्वाचनको लागि बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यतालिका छ।
बैठकमा विश्वासको मत दिने कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई छलफलमा बोलाएका हुन्।
सर्वदलीय बैठकमा यी पार्टीका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता सहभागी छन्।
राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी बाहेकका पार्टीले विश्वासको मत दिएपछि सभामुख र राष्ट्रपतिको निर्वाचनमा फरक परिस्थिति बन्न सक्ने पर्खाइमा प्रमुख प्रतिपक्षी कांग्रेस छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation