काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्च अदालतले मगाएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार उनलाई राहदानी मुद्दामा छुटकारा दिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै निस्सा मागेको हो।
'रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाइ नियमअनुसार पेश गर्नू', आदेशमा भनिएको छ। मुद्दा नचलाउने निर्णय कार्यान्वयन नगर्न निवेदक युवराज पौडेल सफलले माग गरे पनि सर्वोच्चले रिटको अन्तिम किनारा लाग्दै सम्बोधन हुने भन्दै अन्तरिम आदेश भने दिएन।
यसैगरी विपक्षीको नाममा १५ दिनभित्र जवाफ पेस गर्न पनि आदेशमा उल्लेख गरिएको छ। ‘निवेदकको माग बमोजिम अन्तरिम आदेश किन जारी गरिरहनु नपर्ने हो सो को कारणसहित १५ दिनभित्र जवाफ पेस गर्नू’,सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ।
यसअघि रविको नागरिकता सम्बन्धी विवादमा संवैधानिक इजलासबाट गत माघ १३ गते भएको आदेशको मिसिल समेत पेस गर्न भनिएको छ।
लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता पौडेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


© Lok Kalam . Designed and Developed by Goldenmud Creation