काठमाडौं- नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्ल र भीम सार्कीले सतकीय साझेदारी गरेपछि नेपाल ६ विकेटले विजयी भएको हो। नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए। कुशल मल्ल ७० रनमा नट आउट रहे। रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए। आसिफ सेख १ रनमा आउट भए।
यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो। अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे। फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए।
विरन्दीप ९४ बलमा ४६ रन जोडे। उनले २ चौका प्रहार गरे। ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए। त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए।
मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए। सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए। ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। गुलशन झाले १ विकेट लिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation