काठमाडौं- भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँदिल्लीस्थित आफू बसेको होटल आईटीसी मौर्यमा शुक्रबार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रू’ भएको बताए।
नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि २ देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए। ‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ‘नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो।’
महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि ३ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा २ देशबीच सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘यी लगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्त्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३ पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो,’ उनले भने ।
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताए। सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौं भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा २ देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरवलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन्।
भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उनले मध्य प्रदेशका राज्यपालसँग भेटवार्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation