काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट ‘भैँसी चढेर आएको’ चर्चा भइरहेको बताएपछि संसद्मा हंगामा भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे जवाफ दिइसेकपछि प्रश्नोत्तर सेसनमा स्वतन्त्र पार्टीका सांसद् खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरु रिसाएका हुन्।
माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए। उनले प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरे। त्यसअघि खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए भनेका थिए।
उक्त शब्दलाई लिएर माओवादी सांसदहरुको आपत्तिपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा सो शब्द उच्चरण गरेको भन्दै सो पनि हटाउन माग गरे।
केही बेरको अवरोधपछि सभामुख घिमिरले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गरेका थिए। त्यसपछि सदन फेरि सञ्चालन भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation