काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आजदेखि सुरु हुँदै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मध्यान्न १२ बजेदेखि भेला सुरु हुने कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन्। आज र भोलि (शुक्रबार) सञ्चालन हुने बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुने छ।
जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल हुने तय भएको छ। बैठकमा बोलाउनुअघि जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको बिषय, विधान बमोजिम गर्नु पर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी संचालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ।
जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation