काठमाडौं- सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ। बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो।
दुई पक्षबीचको वार्तामा बुँदागत रुपमा छलफल भएको भन्दै कानुनमन्त्री धनरज गुरुङले सकारात्मक छलफल भएको दाबी गरे। उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउन प्रयास गरिने बताए। सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाइ थियो ।
यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आजको बैठकमा सामान्य छलफलमात्रै भएको बताए। ‘आज सामान्य छलफलमात्रै भयो। औपचारिक वार्ता कमिटीका लागि पत्र लेखिँदैछ त्यसअघि औपचारिक वार्ता हुन्छ’, उनले भने।
अध्यक्ष भण्डारीले सहमति नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र मन्त्रालयका सचिवहरु सहभागी थिए। त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु सहभागी थिए।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दवाव दिइरहेका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation