२०८० चैत ०४ आइतबार
काठमाडौँ- विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । काठमाडौं महानगरपालिका–
४ धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाई सेकेन्डरी स्कुलले शुल्क नतिरेको भन्दै
विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको हो। कक्षा १० मा अध्ययनरत सोफी शेर्पालाई स्कुलले परीक्षा दिन रोक लगाएको हो ।स्कुलले बुधबारदेखि एसइई (सेकेन्डरी इजुकेसन एक्जामिनेसन)को तयारीमा रहेका विद्यार्थीको ‘फाइनल टर्मिनल’ परीक्षा लिइरहेको छ । सोफी पनि एसइई परीक्षाको तयारीमा छिन ।
तर, स्कुलले उनलाई शुल्क
नतिरेको भन्दै परीक्षा दिनबाट वञ्चित गरिएको छ । कक्षा पाँचमा अध्ययनरत उनका भाइ फुर्वा शेर्पालाई पनि स्कुलले बुधबारदेखि नै विद्यालय प्रवेशमा रोक लगाएको छ । स्कुलका
एकाउन्टेन्ट राजु श्रेष्ठले शुल्क नतिरेपछि सोफीको परीक्षा रोकिएको स्वीकार गरेका छन् । ‘म स्कुलको प्रिन्सिपल होइन । उनीहरूको डिटेल जानकारी मलाई थाहा भएन । उनीहरूले शुल्क तिरेका छैनन् । सोही कारण परीक्षा दिन रोकिएको हुनसक्ने पढाउने म्यामहरूको भनाइ छ।
सोफी र फुर्वाका बाबु कामी शेर्पाले भने दुवैको शुल्क
चुक्ता भइसकेको र उनीहरूले आफूसँग थप एक लाख रुपैयाँ मागिरहेको बताएका छन् । सोही रकम तिर्न नसकेपछि स्कुलले छोरी सोफीलाई परीक्षा दिन रोक लगाएको र छोरा फुर्वालाई विद्यालय प्रवेश गर्न नदिएको दाबी गरेका छन्। ‘मैले स्कुललाई उनीहरू आफैँले तयार गरेको मापदण्डभन्दा धेरै शुल्क बुझाएको छु । तर, उनीहरूले विभिन्न शीर्षकमा थप एक लाख रुपैयाँ माग गरेको बताए। थप रकम किन तिर्नु ? मैले रकम तिर्न इन्कार गरेँको थिए । बदलामा उनीहरूले छोरीलाई एसइईको मुखमै परीक्षा दिनबाटै वञ्चित गराए दिए । छोरालाई स्कुल प्रवेश गर्न दिएनन् । यसले मेरा स–साना छोराछोरीमा गम्भीर मानसिक असर परेको छ,’ उनले भने ।
कामी शेर्पाका अनुसार स्कुलले काठमाडौं महानगरपालिकामा
बुझाएको शुल्क मापदण्डभन्दा आफूसँग धेरै रकम असुल गरेको बताए । महानगरपालिकामा स्कुलले पेस गरेको शुल्क तालिकाअनुसार कक्षा ९ र १० का लागि वर्ष दिनभित्र बुझाउनुपर्ने शुल्क दुई लाख ५० हजार तीन सय २५ रुपैयाँ निर्धारण गरिएको छ । कक्षा चार र पाँचका लागि वर्ष दिनको शुल्क एक लाख २३ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । उल्लेखित शुल्क मासिक पढाइ, वार्षिक, भर्ना, धरौटी, परीक्षा, कम्प्युटर, शैक्षिक भ्रमण, शैक्षिक सामग्री
खरिदबापतको एकमुस्ट शुल्क हो ।
तर, विवरणअनुसार कामी शेर्पाले छोरी सोफीका लागि कक्षा ९ र १० मा शुल्कबापत दुई लाख ५७ हजार नौ सय ९० रुपैयाँ बुझाएको देखिन्छ । जुन स्कुलले महानगरपालिकामा पेस गरेको शुल्क विवरणभन्दा सात हजार ६ सय ६५ रुपैयाँले धेरै छ । त्यस्तै, छोरा फुर्वाका लागि कक्षा चार र पाँचमा शुल्कबापत एक लाख ३८ हजार रुपैयाँ बुझाएको देखिएको छ । जुन महानगरपालिकामा पेस गरिएको शुल्क विवरणभन्दा १४ हजार सात सय ५० रुपैयाँले धेरै छ ।
‘मैले स्कुललाई उनीहरू आफैँले निर्धारण गरेको शुल्कभन्दा
धेरै रकम बुझाएको छु । मसँग यसका सबै प्रमाण छन् । उनीहरूले दिएको रकम रिसिभ गरेको रसिद मसँग छ । उनीहरू मसँग अझै एक लाख रुपैयाँ मागिरहेका छन् । इमेलमार्फत विभिन्न धम्की दिइरहेका छन् । शुल्क नतिरेको भन्दै अबोध बालबालिकालाई विद्यालय प्रवेश गर्न रोक्नु कहाँसम्मको न्याय हो ?’ शुल्कबापत विद्यालयमा
बुझाएको रकमको विवरण देखाउँदै कामीले प्रश्न गरे ।
काठमाडौं महानगरपालिकाले घटना सम्बन्धमा छानबिन भइरहेको जनाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहका शिक्षा विभाग सचिवालय सल्लाहकार सस्मित पोखरेलले घटनाको सूचना महानगरपालिकामा पनि आएको र छानबिन भइरहेको बताएका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation