काठमाडौं- अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई–दुईपटक बोलाएर पनि स्थगित प्रतिनिधि सभाको बैठक फेरि आज आइतबारका लागि बोलाइएको छ।
संसदमा टेबल भइसकेको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा सामान्य छलफल थाल्न भनेर गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको बैठक बोलाइए पनि सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहयोगका कारण त्यसैबेला प्रस्ताव फेल हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुवैपटक बैठक स्थगन गराएका हुन्।
अहिले देउवाले संसदमा जारी अवरोध खुलाएर एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोग मागिरहेका छन् र वार्तालाई तीव्रता दिइरहेका छन्। शनिबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताबीच छलफल भएकाे थियाे। तर सहमति हुन सकेन।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबारै तय भइसकेको छ। संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यक्रममा एमसीसी समेटिएको छ।
अब आज एमसीसी अघि बढ्ला वा नबढ्ला, निकै चासाेकाे विषय बनेकाे छ। यो कुरा प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी एमाले जोसँग भए पनि गर्ने सहमतिमा भर पर्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation