काठमाडौं- भारतले अग्निपथ योजनाअनुसार गोर्खा भर्ती नेपालले अस्वीकार गरे हाल भर्तीका लागि खुला गरिएको भ्याकेन्सी फिर्ता हुने संकेत गरेको छ।
भारतीय थलसेना प्रमुख जनरल मनोज पाँडेले नेपालले समयभित्रै निर्णय नदिए भ्याकेन्सी फिर्ता लिन बाध्य हुने बताएका छन्। भारतले अग्निपथ योजना ल्याएर ४ वर्षका लागि मात्र सेनामा भर्ती गर्ने नीति ल्याएको छ।
जसको भारतमा समेत विरोध हुँदै आएको छ। गोर्खा भर्ती पनि सोही योजनाअनुसार गर्नेगरी भारतीय सेनाले भ्याकेन्सी खुलाएपछि नेपालले त्यसलाई स्वीकृति दिएको छैन। जसका कारण भदौ ९ मा बुटवलमा र भदौ १६ मा धरान हुने भनिएको भर्ना छनोट रोकिएको छ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार जनरल पाँडेले नेपालमा आम चुनाव आइरहेको भन्दै सो चुनाव अगाडि कुनै निर्णय आउने सम्भावना कम रहेको बताएका छन् ।
उनले अग्निपथ योजनाअनुसार भर्ना हुने ७५ प्रतिशत युवाले सेवा निधी निवृत्ति योजनाअनुसार ११.७ लाख भारु पाउने बताएका छन् । उनले नेपाल सरकारलाई यो फाइदाबारे बुझाइने बताएका छन् ।
उनले हालै नेपालको भ्रमण गरेका थिए। यता नेपालमा भने अग्निपथ योजनाअनुसार गोर्खा भर्ती लिनु नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षी सम्झौताविपरीत भएको भन्दै त्यसको विरोध भइरहेको छ।
हाल भारतीय सेनामा करिब ३५ हजार नेपाली युवाहरू रहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation