काठमाडौं- प्रतिनिधिसभाका १६५ मध्ये ११५ सिटको नतिजा आइसकेको छ। जसमा अहिलेसम्म कांग्रेस सबैभन्दा बढी ४० सिटमा जित हात पार्दै पहिलो स्थानमा छन्। त्यस्तै एमालेले २९ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ।
नेकपा माओवादी केन्द्र १२ सिट जित्दै तेस्रो र नेकपा एस १० सिट जित्दै चौथो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी ७ सिटमा जित हात पार्दै पाँचौँ स्थानमा रहँदा राप्रपा ५ सिटसहित छैटौं स्थानमा छन्। त्यस्तै जसपा ३, लोसपा २ र नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा जित हात पारेका छन्। त्यस्तै यस पटक स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेका छन्। यस पटक दल छाडेर स्वतन्त्र उम्मेदवारी दिनेहरूले चुनाव जितेका हुन्।
रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन्। साहले निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे। साह यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन्। उनको यो लगातार चौथो जित हो। २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन्।
स्वतन्त्र उमेदवार साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए। माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत पाएका थिए। सत्ता गठबन्धनले सघाउने भने पनि साह विरुद्ध कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र जसपाका उम्मेदवारले मोर्चाबन्दी गरेको साह निकट कार्यकर्ताहरूको आरोप छ।
नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए। जसपाको भागमा परेको मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा तर्फ ८ र प्रदेशसभा तर्फ १७ गरी २५ जनालाई साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन्। सिंहले २० हजार १७ मत ल्याउँदै विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन्। पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन्।
यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन्। कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो। नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो।
मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका हुन्। मण्डलले २१ हजार ८ सय २० मत ल्याउदा सत्ता गठबन्धनवाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन्।
योगेन्द्रलाई एमालेले उक्त क्षेत्रबाट सर्वसम्मतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो। तर उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।
रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन्। साहले ३२ हजार ८४२ मत ल्याउँदै विजयी भएको मुख्य निर्वाचनको कार्यालय गौरले जनायो।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए। मुस्लिम बाहुल्य क्षेत्रमा साह पहिलो पटक विजयी भएका हुन्।उनका प्रतिद्वन्द्वी आलम कांग्रेस नेता एवं पूर्व मन्त्री मोहम्मद आफताव आलमका जेठो छोरा हुन्। लामो समय माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए। पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन्। उनी क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह प्यानलका हुन्।
बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्म्दवार लालवीर चौधरी निर्वाचित भएका छन्। नागरिक उन्मुक्ति पार्टीका नेता उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरेका छन्। लालवीर २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पन्थले २६ हजार ३८४ मत पाएका छन्।
यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दोषी ठहर्याएपछि कारागारमा रहेका पूर्व सांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो। तर वर्तमान कानुनबमोजिम उनको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि नागरिक उन्मुक्तिले पहिले नै लालवीरको उम्मेदवारी दर्ता गराएको थियो। लालवीर रेशमका पिता हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation