८ कार्तिक २०८३, शनिबार

बालेनले विकल्प नदिएर सुकुम्बासी बस्ती उठीबास लगाउन खोज्दा तनाव

  • १२ मंसिर २०७९, सोमबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै पनि विकल्प नदिएर सुकुम्बासी बस्तीको उठीबास लगाएका छन्। काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा एकाएक बालेन शाहले डोजर चलाएपछि तनाव सिर्जना भएको छ। 

महानगरले बस्तीमा डोजर चलाएपछि विकल्प नदिएर आफ्नो बस्ती उजाड पार्न खोजेको भन्दै स्थानीयहरुले प्रतिकार गरेका छन्। अधिकार सम्पन्‍न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीमा एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि प्रतिकार गर्दा तनाव सिर्जना भएको हो। 

वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन्। सुकुम्बासीहरुले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन्। 

बस्ती हटाउन आएको टोलीमाथि सुकुम्बासीहरु घरेलु हतियार खुकुरी र ढुंगामुढासहित उत्रिएका थिए। उनीहरु हातमा खुकुरी बोकेर सडकमा निस्किँदै बस्ती हटाउन आए बाँकी नराख्ने चेतावनी दिइरहेका छन्।

आक्रमक बनेका सुकुम्बासीहरुले ढुंगा र इँटा हान्दा महानगरका एसपी राजु पाण्डेको टाउकोमा चोट लागेको छ। सुकुम्बासीबस्तीका स्थानीयले  महानगरका मेयरविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर