८ कार्तिक २०८३, शनिबार

देव गुरुङ भन्छन्- राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिँदैन

  • १ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन्।

मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने उनको भनाइ थियो। 

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यो व्यवस्था र प्रणाली रहुन्जेल राजनीतिक दलहरुको नेतृत्वले नै मुलुकको नेतृत्व गर्नुको विकल्प नरहेको स्पष्ट पारे। उनले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदलभित्र कहीँकतै पनि कुरा नउठेको जानकारी दिए।

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएको भन्दै उनले उत्त प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताए। 

‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन। पार्टीमा पनि कुरा उठेको छैन। पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन। तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत यो कुरा सुनिराखिएको छ। अब सुनेकै कुरा ठीक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन। किनभने अहिलेसम्मको विकासको यात्राले के चाहिँ आत्मासातीकरण गर्दै आएको हो भने अब मुलुकको अगुवा दलहरुले गर्नुपर्छ’, महासचिव गुरुङले भने , ‘‘अहिलेको सन्दर्भमा दलहरुको नेताहरुको विकल्प छैन । दलहरुको विकल्प छैन। दलीय प्रणालीको विकल्प छैन। राजनीतिक पृष्ठभूमि र राजनीतिक पृष्ठभूमिबाट आएको लिडरहरुको विकल्प छैन।’

गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताए। तर, संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनले बताए।  

प्रतिक्रिया

सम्बन्धित खवर