काठमाडौं- आगामी आर्थिक वर्षदेखि सरकारी कार्यालयमा विद्युतीय सवारी खरिदको नीति लिइने भएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कार्यलयहरुमा विद्युतीय सवारी खरिदको नीति लिने बताए।
सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने पौडेलले बताए। ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिने उनले बताए।
सरकारले स्पील (खेरजाने) बिजुली सस्तो दरमा उद्योगहरुलाई दिने घोषणा गरेको छ।
‘आन्तरिक खपत र निर्यातबाट बचेको बिजुली सहुलियत दरमा उद्योगहरूलाई उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यस्तो बिजुलीले उद्योगहरूलाई प्रतिस्पर्धी क्षमतामा उत्पादन गर्न मद्दत पुग्नेछ।’
सरकारले सबै उद्योगमा गुणस्तरीय बिजुली उपलब्ध गराउने पनि घोषणा गरेको छ।
त्यसैगरी सरकारले ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाउने भएको छ। स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने गरी औद्योगिक विकास गर्न भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो।
राष्ट्रपति पौडेलले देशमै उद्यम गर्न चाहनेलाई बिउ पूँजी उपलब्ध गराउने, स्वदेशी उत्पादन २० प्रतिशत भन्दा महँगो भए पनि प्रयोग गर्ने, रोजगारी र उद्यमशीलतालाई व्यवसामा जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गरिने बताएका छन्। औद्योगिक नीति र कम्पनी दर्ताका कार्यलाई सहजीकरण गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation