काठमाडौं- 'पढ्दै कमाउँदै' कार्यक्रमका लागि १४० विद्यालय छनोट भएका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त सूची सार्वजनिक गरेको हो।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि १४० सामुदायिक विद्यालय छनोट गरेको छ।
प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो।
सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो। प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए।
आवेदन परेका विद्यालयहरूलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरिएको आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको जोशीले बताए। कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको थियो।
सरकारले यस वर्षदेखि घोषणा गरेको पढ्दै कमाउँदै कार्यक्रम परीक्षणका रूपमा थोरै विद्यालयमा मात्र लागू गर्ने जनाएको थियो। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको १४ करोड रुपैयाँ खर्च गरी पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने शिक्षा मन्त्रालयले जनाएको छ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले माध्यमिक तह (कक्षा ९-१२) का विद्यार्थीलाई लक्षित गर्दै पढ्दै कमाउँदै कार्यक्रम ल्याएको थियो। बजेट थोरै भएकाले यस वर्ष परीक्षण कार्यक्रमका रूपमा सञ्चालन गर्ने तयारी छ।




© Lok Kalam . Designed and Developed by Goldenmud Creation